अमेरिकी डलरको मूल्य सात महिनापछि १५० रूपैयाँभन्दा तल झरेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १४९.८१ रूपैयाँ कायम भएको छ।
यसअघि गत वैशाख ९ गते (२२ अप्रिल) डलरको बिक्रीदर १४९.९१ थियो।
त्यसको भोलिपल्ट वैशाख १० गते डलरको बिक्रीदर १५०.३८ रूपैयाँ पुगेको थियो।
त्यसपछि डलरको बिक्रीदर १५० रूपैयाँभन्दा माथि थियो।
बिहीबार डलरको बिक्रीदर सात महिनाअघिको तुलनामा १० पैसा कम भएको छ।
राष्ट्र बैंकले बिहीबारका लागि डलरको खरिददर १४९.२१ रूपैयाँ तोकेको छ।
अघिल्लो दिन बुधबार डलरको खरिददर १४९.२६ र बिक्रीदर १४९.८६ रूपैयाँ थियो।
एक दिनमा डलरको खरिद र बिक्रीदर पाँच–पाँच पैसा घटेको हो।
डलरको मूल्य घट्दा आयातकर्ता र विदेशमा भुक्तानी गर्नुपर्ने नेपालीलाई केही राहत पुग्न सक्छ।
तर विदेशबाट डलरमा रेमिटेन्स पठाउनेले पाउने नेपाली रूपैयाँ घट्न सक्छ।