मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान शपथ लिएका हुन्।
यादव संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
यो भनेको प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दल नेताको हैसियतामा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
प्रदेश प्रमुख कर्णले १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।
निर्धारित समयमा कुनै पनि दलबाट दाबी पेस नभएपछि उनले उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
त्यसरी बनेको मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा प्रदेश प्रमुखले कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्।
त्यसरी नियुक्त भएका मुख्यमन्त्रीले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।
विश्वास मत नपाए मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरी ६ महिनाभित्र अर्को चुनाव गर्ने गरी मिति तोक्नेछन्।
१०२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक पर्छ।
कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट एमाले असोजमा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक तेस्रो साता बाहिरिएको थियो।
प्रदेशसभामा २८ सांसदसहित जसपा पहिलो पार्टी हो। यहाँ एमालेको २४, कांग्रेसको २२, नेकपाको १५, जनमतको १२, संघीय समाजवादी पार्टीको १ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सांसद छन्।