नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराईले पार्टीलाई बलियो बनाउन नयाँ विचार र पुरानो संस्कार आवश्यक रहेको बताएका छन्।
बिहीबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पार्टी बलियो बन्न मुख्यतः दुई कुरा विचार र संस्कार महत्वपूर्ण हुने बताए।
विचार समयअनुसार प्रगतिशील र परिमार्जित हुँदै जानुपर्ने भए पनि पार्टीभित्र पुरानो आत्मीयता, प्रेम, सद्भाव र भ्रातृत्वको संस्कार कायम राख्नुपर्ने उनको भनाइ छ।
पार्टी स्थापना हुँदाको आत्मीयता र आपसी सद्भाव अहिले कमजोर हुँदै गएको उल्लेख गर्दै उनले कांग्रेसलाई नयाँ विचारसहित पुरानै असल संस्कारमा फर्काउनुपर्ने बताए।
भट्टराईले जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्र नभई राजनीतिक कार्यशैली परिवर्तनका लागि पनि भएको बताए।
आफूले जे गरे पनि हुने र पुराना नेतृत्वलाई मात्रै दोषी देखाउने प्रवृत्ति सुशासन हुन नसक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री बालेन शाहका सल्लाहकारले प्रहरीसँग मोबाइल खोस्नु सामान्य घटना नभएको उल्लेख गर्दै उनले राज्य सञ्चालनमा जिम्मेवार व्यवहार आवश्यक रहेको बताए।
उनले आगामी स्थानीय निर्वाचनलाई कांग्रेसका लागि बलियो पार्टी निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
निर्वाचनमा उम्मेदवार छनोटमा मात्र केन्द्रित नभई चुनाव जितेपछि के गर्ने र जनताका कुन आवश्यकता प्राथमिकतामा राख्ने भन्ने विषयमा स्पष्ट योजना बनाउनुपर्ने उनको सुझाव थियो।
'हामीले केका लागि भोट माग्ने र मतदाताले केका लागि भोट दिने भन्ने कुरा स्पष्ट हुनुपर्छ,' उनले भने। स्थानीय निर्वाचनलाई व्यवस्थित र वैज्ञानिक बनाउँदै जनतासमक्ष स्पष्ट कार्ययोजना लिएर जानुपर्ने उनले बताए।
युवाहरू कांग्रेससँग असन्तुष्ट रहेको उल्लेख गर्दै भट्टराईले उनीहरूसँग संवाद गर्नुपर्नेमा जोड दिए। युवा पुस्ताले आफू पछि परेको र देशले पनि अपेक्षित प्रगति गर्न नसकेकोमा राजनीतिक दललाई दोषी ठानिरहेको उनको भनाइ थियो।
व्यक्तिसँगको रिस पार्टीमाथि, पार्टीसँगको रिस व्यवस्थामाथि र व्यवस्थासँगको रिस देशमाथि पोख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनले बताए।