नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व परिवर्तन र प्रतिस्पर्धा गर्ने अवसरका साथै पार्टी र संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
बिहीबार पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीका अधिवेशन तथा महाधिवेशनमा नयाँ नेतृत्व चयन हुने र प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए। तर, यस्ता अधिवेशनलाई पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
‘पार्टी अधिवेशन, महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिस्पर्धा हुन्छ। यो स्वाभाविक हो। तर, हामीले अधिवेशन, महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ,’ उनले भने।
यो पनि- सभापतिमा उम्मेदवारी दिने तयारीमा विमलेन्द्र, शशांकसँग खोजे समर्थन
अधिवेशन तथा महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्न सके कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने उनले बताए।
‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन। वडादेखि केन्द्रसम्मका अधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अभियानका रूपमा उपयोग गर्न सके सबै चुनावमा कांग्रेस बलियो बन्छ। पद एउटा हुन्छ, आकांक्षा राख्ने साथी धेरै हुन्छन्। हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ उनले भने।
उनले बीपी कोइराला २०३३ सालमा नेपाल फर्कने निर्णय गर्दा गणेशमान सिंहले फरक मत राखेको प्रसङ्ग उल्लेख गर्दै नेताले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताए।
‘२०३३ सालमा बीपीको नेपाल फर्कने निर्णयमा गणेशमानजी सहमत हुनुहुन्थेन तर, बीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले ‘बीपी मेरो नेता हो। उहाँले निर्णय गरेपछि मैले त्यो निर्णय मान्नु मेरो दायित्व हो भन्दै नेपाल फर्कनुभयो,’ उनले भने।
बीपी कोइरालाले देखाएको बाटोमा हिँड्न सके कांग्रेस र मुलुकलाई सबै संकटबाट पार लगाउन सकिने उनको भनाइ थियो।