अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ३ बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झासमेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भारतीय सहयोगमा सर्लाही र रौतहटमा बनेको वागमती नदी नियन्त्रण आयोजनाको काममा विभागका तत्कालीन उपमहानिर्देशक खोमराज दाहाल र सो कार्यालयका कर्मचारीले ठेकेदारसँग मिलेमतो गरी ठूलो रकम भ्रष्टाचार गरेको उजुरीका आधारमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
आयोजनाको प्याकेज ‘सी’ मा पचास लाख ६४ हजार छ सय २० र प्याकेज ‘डि’ मा ३५ लाख २६ हजार गरी कूल ८५ लाख ९० हजार छ सय २० भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
ठेकेदार कम्पनीलाई उपलब्ध गराएको अग्रिम भुक्तानी रकम लापरवाही र बदनियतका साथ बैंकमा दावी नगरेको तथा भुक्तानी लिने ठेकेदार कम्पनीले पनि बदनियतका साथ सरकारी रकम फिर्ता नगरी खाईमासेको देखिएकोले ठेकेदार कम्पनीका पदाधिकारी र राष्ट्रसेवक कर्मचारीहरूको मिलेमतोमा सरकारलाई हानिनोक्सानी पुर्याएको आरोपसहित मुद्दा दर्ता भएको हो।
साथै अख्तियारले ठेकेदार कम्पनीलाई फाइदा पुर्याउने बदनियतका साथ काम गरे गराएको सप्रमाण पुष्टि हुन आएको दावी गरेको छ। उक्त कार्यहरूमा संलग्न रहेका जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख झा, लेखा प्रमुख अरुण कुमार राई, निर्माण कम्पनी एमके निर्माण, पार्टनर दि कन्चनजंगा निर्माण सेवाका प्रबन्ध निर्देशक तेण्डी शेर्पा, निर्माण कम्पनी एमके निर्माणका कार्यकारी निर्देशक जीवन थापा, निर्माण कम्पनी एमके निर्माणका पार्टनर बज्रगुरु निर्माण सेवाका अध्यक्ष रेवन्त कुमार बस्नेतलाई बिगोसमेत भराउने गरी मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ।