अत्यधिक शीतलहर बढेपछि जिल्लाका विभिन्न स्थानमा नेपाली सेना र स्थानीय तहले चोकचोकमा आगो बाल्न दाउरा वितरण गर्न थालेका छन्।
शुक्रबार बिहानैदेखि चोहर्वास्थित नेपाली सेना नन्दाबक्स गणको सक्रियतामा सिरहाको नरहा गाउँपालिका–३ स्थित पुरानो चोहर्वा, गोलबजार नगरपालिका–४ देखि ६ सम्म तथा विष्णुपुर गाउँपालिका–१ मा दाउरा वितरण गरी चोकचोकमा आगो बालिएको छ।
गणका सह सेनानी रेशमराज अधिकारीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरेको सेनाले जनाएको छ।
चोकमा बालिएको आगोबाट राहत महसुस भएको स्थानीयहरू बताउँछन्।
चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले पनि बुधबारदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरू गरेको छ। साथै, डिभिजन वन कार्यालय लहानले जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ।
रासस