जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएको छ। मतगणनामा खसेकोभन्दा बढी मतपत्र बाहिरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले प्रदर्शन गरिरहेका छन्।
बरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयममा सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले खसेकोभन्दा बढी मतपत्र फेला परेको भन्दै निर्वाचन आयोगले धाँधली गरेको आरोप लगाएका छन्। विवाद बढ्न थालेपछि मतगणनास्थलमा तनाव बढ्न नदिनका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
भण्डारी पक्षले निर्वाचन समितिको विरोध मतगणना स्थल गोपाल धर्मशालामा टायर बालेर प्रदर्शनका गर्नुका साथै ढुंगामुढासमेत प्रहार गरेका छन।
प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको छ। लाठीचार्जबाट ३/४ जना प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ। प्रदर्शनकारीहरूले मतदान ४३११ मात्र भएकोमा मतपरिणाम ४४ भन्दा बढी देखिएकाले निर्वाचन आयोगले धाँधली गरेको आरोप लगाए।
यता निर्वाचन समितिले मतगणनामा मनिषरमण साहले अग्रता लिएपछि भण्डारी पक्षधर जबरजस्ती विवाद सिर्जना गरेको आरोप लगाएको छ। विवादकै कारण अहिले मतगणना स्थगित गरिएको छ।
अध्यक्षमा जितेन्द्र महासेठ एक हजारभन्दा बढी मतान्तरले प्रतिष्पर्धी जितेन्द्रप्रसाद साहलाई पराजित गर्दै विजयी भएका छन्। अन्य पदको मतगणना भने अहिलेसम्म सम्पन्न हुन सकेको छैन।