मस्तिष्कको धमनी फुटेर रक्तस्राव हुनुलाई ब्रेन ह्यामरेज भनिन्छ। ब्रेन ह्यामरेज अर्थात् मस्तिष्कको रक्तस्राव विभिन्न कारणले गर्दा हुन्छ। एउटा ट्रमा (चोटपटक) ले हुन्छ भने अर्को रगतका धमनीहरू कमजोर भएर हुन्छ। यस्तो हुनुको धेरै कारण उमेर हुन्छ। सामान्यत ६० भन्दा माथिको उमेरमा यस्तो खतरा हुन सक्छ भने कुनै रोगको कारणले गर्दा पनि हुन्छ। कहिलेकाहीँ ट्युमरले पनि हुनसक्छ।
यसको विभिन्न जोखिमका कारणहरू हुन सक्छन्।
- उच्च रक्तचाप
- चुरोट रक्सीको सेवन
- मधुमेह
- वंशाणुगत कारण
जाडोमा ब्रेन ह्यामरेज धेरै हुनसक्छ। किनकि चिसोको कारणले गर्दा रगतको धमनीहरू खुम्चिन्छ। रगतको धमनीहरू खुम्चिएपछि एक्कासि रक्तचाप धेरै हुन्छ। रक्तचाप धेरै बढ्ने क्रममा कमजोर भइरहेका धमनीहरू फुट्न सक्ने भएकाले ब्रेन ह्यामरेजको खतरा हुन्छ।
बाथरूममा लडेर कतिलाई ब्रेन ह्यामरेज भएका घटना हामीले सुनिरहेका हुन्छौं। यसको कारण भने अरू नै पनि हुन सक्छ। कहिले बाथरूममै लडेर अनि टाउकोमा चिसो पानी एक्कासि पर्यो भने धमनी खुम्चेर ब्रेन ह्यामरेज हुन सक्छ।
त्यसैले जाडोको समयमा सकेसम्म चिसो पानीले नुहाउनु हुँदैन। पहिला हातहरू धुने त्यसपछि खुट्टाहरूमा पानी राख्ने अनि शरीरलाई पानीसँग बानी पारेर टाउकोमा राख्न सकिन्छ। चिसोको मौसममा एक्कासि टाउकोमा चिसो पानी राख्न हुँदैन। चिसो पानी सिधै राख्दा धमनीहरू खुम्चिएर रक्तचाप तलमाथि हुने, टाउको दुख्ने अनि एक्कासि धेरै खुम्चिएर फुट्न सक्छ। फुटेन भने पनि अप्ठ्यारो हुन सक्छ अर्थात् गुजुल्टा पर्न सक्छ अनि जुनसुकै बेला फुट्न सक्छ। यसको मतलब के हो भने चिसोको समयमा टाउकोमा सिधै चिसो पानी खन्याउन भएन भन्ने हो। आफ्नो शरीरको तापक्रमसँग मिलाएर नुहाएको राम्रो हो।
तर कतिको भने चिसो पानीले नै नुहाउने बानी हुन सक्छ। पहिलादेखि चिसो पानीले नुहाइरहेकाहरूलाई धेरै फरक नपर्न सक्छ। तर न्यानो गरेर बसेको मान्छेले एकैचोटि चिसो पानीले नुहाएमा हानि गर्न सक्छ।
अर्को जाडो भयो भनेर रक्सी खाने कतिपयको बानी हुन्छ जसले गर्दा समस्या आउन सक्छ। रक्सी खाएपछि रक्तचाप बढ्छ अनि यसले ब्रेन ह्यामरेज गराउने खतरा हुन्छ।
कतिले रक्सी खाएर शरीर तताउने भन्छन्। रक्सी खाएपछि त्यसले रगतको धमनीलाई फुकाइदिन्छ। रगतको धमनी फुकाइदिएपछि यसको सर्कुलेसन बढ्छ। त्यसले गर्दा शरीरको तापक्रम पनि बढ्छ। तर केही समयपछि विस्तारै शरीर चिसो हुन थाल्छ। जसले गर्दा हाइपोथर्मिया भएर बिरामीको ज्यान समेत जान सक्छ।
ब्रेन ह्ययामरेज कुन कारणले भएको छ भन्ने आधारमा यसको उपचार गरिन्छ।
टाउकोमा चोट कति छ, कति रक्तस्राव भएको छ, कति रगत जमेको छ, अनि कति नसा खुम्चिएको छ भन्ने आधारमा यसको उपचार गरिन्छ।
वीर अस्पतालमा टाउको खोलेर गरिने अपरेसनका लागि जनशक्ति र प्रविधि पर्याप्त छ तर टाउको नखोलिकन गरिने अपरेसनको जनशक्ति भने हामीसँग छैन।
यसको शल्यक्रिया हुँदै गर्दा धेरै कुरामा ख्याल गर्नुपर्छ। सबभन्दा पहिला त बिरामीको सर्जरी हुन सक्छ कि सक्दैन भनेर निर्धारण गर्न जरूरी छ।
बिरामीको अवस्था अनुसार जोखिमको निर्धारण हुन्छ। त्यस्तो अवस्थामा अपरेसन गर्ने कि नगर्ने भनेर हामीले काउन्सिलिङ गर्छौं।
अपरेसन गर्ने क्रममा धेरै होसियारी अपनाउन जरूरी छ।
सर्जन भनेको चिलको जस्तो आँखा भएको, सिंहको मुटु र महिलाको हात हुनुपर्छ भन्ने गरिन्छ।
चिलको जस्तो आँखा भनेको त्यहाँ सानो कुरा पनि देख्नु पर्यो, केही सानो कुरा छ भने पनि छोड्न भएन भन्ने हो। अपरेसन गर्दागर्दै कतै रगत बगेको छ भने त्यो देख्नै पर्यो। त्यही भएर चिलको जस्तो आँखा हुनुपर्यो भनेको हो।
सिंहको जस्तो मुटु हुनु पर्यो भनेको आफूलाई कठोर बनाउनु पर्छ भन्ने हो। कहिलेकाहीँ बिरामीको तलमाथि हुन सक्छ। धेरै जटिलता आउन सक्छ।त्यस्तो बेला चिकित्सक आफै डरायो भने के गर्ने त्यसैले सिंहजस्तो बलवान हुनुपर्छ भन्ने हो।
अर्को कुरा सर्जरी आफैमा संवेदनशील काम हो। त्यसैले महिलाको जस्तो हात अर्थात् त्यसलाई संरक्षण गरेको तरिकाले हुनुपर्यो भन्ने हो। केही कुरा नबिगारिकन गर्ने, नरम तरिकाले गर्ने भनेर महिलाको हात भनिएको हो। यो टाउकोको सवालमा मात्र होइन मुटु लगायतका अन्य अंगमा समेत हुन्छ।
(कनसल्ट्यान्ट न्युरो सर्जन डा.नम्रता खड्का वीर अस्पतालमा कार्यरत छन्।)