अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समूह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरूद्ध आरोपपत्र दायर गरेको छ।
आयोगले सामुदायिक वन उपभोक्ता समूहको सम्पत्ति चार लाख ५६ हजार बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको भन्दै उनीहरूविरूद्ध आज आरोपपत्र दायर गरेको जनाएको छ।
तत्कालीन अध्यक्ष खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरूले आव २०६८/०७९ देखि २०७१/०७२ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित घुम्ती कोष लगानी विवरणमा तीन लाख ७२ हजार लिए/दिएको भनी भरपाइसमेत नभएको झुट्टा विवरण बनाएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
साथै वन हेरालुलाई तलब ८४ हजार दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा समूहको सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी आफैंले खाई मासेको पुष्टि हुन आएको हुँदा कसुरमा बिगो चार लाख ५६ हजार कायम गरी र सो सम्पत्ति असुलउपर हुन मागदावीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। रासस