गौतमबुद्ध जन्मस्थल यति बेला थरीथरीका फूल र हरियालीले सजिएको छ।
बसन्त ऋतुको आगमनसँगै लुम्बिनी परिसर बोट-बिरूवाका नयाँ पालुवाको हरियाली र थरीथरीका फूलले मनमोहक बनेको छ।
विभिन्न रङमा फुल्ने बेगनबेली र अन्य सदावहार फूलहरूले मायादेवी मन्दिर वरपर आकर्षक बनाएको छ। लुम्बिनी अवलोकनको लागि जाने पर्यटकहरूलाई पालुवा फेर्दै गरेका बोट-बिरूवा र बसन्तसँगै फक्रिएका फूलहरूले लोभ्याउने गरेको छ।
बसन्त ऋतुलाई प्रकृतिको सबभन्दा सुन्दर बहार मानिन्छ। त्यसमाथि शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी समेत यतिखेर हरियाली र ढकमक्क फूलले ढाकिएको छ।
विभिन्न रङमा फक्रिएका फूल र बोटबिरूवामा लागेका पालुवाको आकर्षणले लुम्बिनी पुग्ने पर्यटकहरूलाई वैशाखको चर्को गर्मी समेत बिर्साइदिएको छ। लुम्बिनीमा बाह्रै महिनाजसो फूल फुलिरहेका हुन्छन्। तर बसन्त ऋतुमा फुलेका फूल र लुम्बिनीको प्रकृतिले यतिखेर पर्यटकहरूलाई झनै आकर्षित बनाएको छ।
लुम्बिनी विकास कोषले मायादेवी मन्दिरदेखि उत्तरतर्फको पवित्र बगैंचालाई हरियाली र सुन्दर बनाउने प्रयत्न गर्दै आइरहेको छ। त्यस्तै, विभिन्न देशले निर्माण गरेका विहार र तलाउहरूमा पनि थरीथरीमा फुलेका कमलका फूलले त्यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउने गरेको छ।
ललितपुर इमाडोलकी रेनुका निरौलाले केही वर्षअघिको तुलनामा अहिले लुम्बिनी आकर्षक बनेको बताइन्।
‘लुम्बिनी पहिलेभन्दा धेरै राम्रो भएको रहेछ, मायादेवी मन्दिर र त्यस वरिपरि फुलेका फूल र पिपलका बोटहरूमा पलाइरहेका पालुवाले लुम्बिनीमै बसिरहुँ जस्तो बनाउने रहेछ, यति राम्रो लुम्बिनी देख्दा धेरै खुसी लाग्यो,’ उनले भनिन्।
भक्तपुर कटुन्जेकी चण्डिका कार्की पनि पाँच-सात वर्ष पहिले आउँदा र अहिले आउँदा लुम्बिनीको सौन्दर्यता धेरै बढेको बताइन्।
‘हामीहरू रारा घुमेर फर्किंदा लुम्बिनी पनि घुमौं न भनेर आएका हौं, यहाँ आउँदा लुम्बिनी साँच्चै नै आहा भन्ने भएको रहेछ, पाँच-सात वर्ष पहिले आउँदा यति राम्रो थिएन अहिले बोटविरूवा र फूलैफूलका बगैंचाले धेरै आकर्षक बनेको रहेछ,’ उनले भनिन्।
लुम्बिनी आफैंमा सुन्दर बगैंचा रहेको कुरा बौद्ध साहित्यमा उल्लेख गरिएको छ। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले फूल र हरियालीसँग बुद्धको जीवन समेत जोडिएकोले विकास कोषले बगैंचा निर्माणलाई पनि विशेष प्राथमिकता दिँदै आएको बताए।
फूल र हरियालीका कारण विश्वभर शान्ति र अहिंसाका प्रतीक मानिने लुम्बिनी अन्य समयमा भन्दा यतिबेला झनै खुलेको देखिन्छ। यो समय मानिसहरू घुमफिर गर्ने समय पनि हो। नयाँ वर्षको आगमन, बालबालिकाहरूको विद्यालय बिदा लगायतका कारण यतिबेला लुम्बिनी घुम्न जाने पर्यटकहरूको संख्या पनि बढेको छ।
तस्बिरहरू:
![11-ink-1713518271.jpeg](https://www.setopati.com/uploads/posts/11-ink-1713518271.jpeg)
![6-ink-1713518270.jpeg](https://www.setopati.com/uploads/posts/6-ink-1713518270.jpeg)
![7-ink-1713518270.jpeg](https://www.setopati.com/uploads/posts/7-ink-1713518270.jpeg)
![8-ink-1713518270.jpeg](https://www.setopati.com/uploads/posts/8-ink-1713518270.jpeg)
![9-ink-1713518270.jpeg](https://www.setopati.com/uploads/posts/9-ink-1713518270.jpeg)
![2-ink-1713518269.jpeg](https://www.setopati.com/uploads/posts/2-ink-1713518269.jpeg)
![3-ink-1713518269.jpeg](https://www.setopati.com/uploads/posts/3-ink-1713518269.jpeg)
![4-ink-1713518269.jpeg](https://www.setopati.com/uploads/posts/4-ink-1713518269.jpeg)
![5-ink-1713518269.jpeg](https://www.setopati.com/uploads/posts/5-ink-1713518269.jpeg)
![1-ink-1713518268.jpeg](https://www.setopati.com/uploads/posts/1-ink-1713518268.jpeg)
![0-ink-1713518268.jpeg](https://www.setopati.com/uploads/posts/0-ink-1713518268.jpeg)