मलेखु-मुग्लिन सडक सोमबार बिहानैदेखि अवरूद्ध छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरूद्ध भएको हो।
सडक अवरूद्ध हुँदा तिहार मनाउन काठमाडौंबाट बिहानै हिँडेका यात्रुहरू समस्यामा परेका छन्। त्यस्तै काठमाडौं आउँदै गरेका सवारी साधनहरू पनि सडक अवरूद्ध हुँदा जाममा परेका छन्।
बिहानै खसेको पहिरो हटाउन तीन वटा मेसिन परिचालन गरिएको थियो। बिहान सवा ९ बजेपछि थप दुइटा मेसिन परिचालन गरिएको नागढुंगा-मुग्लिन सडक योजनाले जनाएको छ।
थप मेसिन परिचालन गरिए पनि पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने पनि योजनाले जनाएको छ।
‘थप पहिरो नआएको खण्डमा अबको करिब ३ घन्टा भित्र उक्त पहिरो हटाई यातायात सुचारु हुने अनुमान छ,’ सडक डिभिजन कार्यालय भरतपुरले सामाजिक सञ्जालमा लेखेको छ।
तस्बिरहरूः









सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।