मोटरसाइकल चोरी गरेको आरोपमा बाँकेमा चारजना युवक पक्राउ परेका छन्।
बाँके प्रहरीले हप्ता दिनभित्रै पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका-२ का निर्मल सुनार, गुलरिया नगरपालिका-६ का मनोज रावल, खजुरा गाउँपालिका-७ का टुइन्क लष्टर श्रीवास्तव र सोही ठाउँका लक्ष्मण हरिजन छन्।
उनीहरूमध्ये निर्मल मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ परेका थिए।
वैशाख २४ गते नेपालगंज उपमहानगरपालिका– १८ विशालनगरबाट भे १० प ५९९५ नम्बरको मोटरसाइकल चोरी गर्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
मनोज भने चोरी भएको भे ३ प ६०८ नम्बरको मोटरसाइकलमा चढेर हिँडिरहेको अवस्थामा पक्राउ परेका थिए।
शुक्रबार बिहान ४ बजे बाँकेको जानकी गाउँपालिका– ४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
श्रीवास्तव र लक्ष्मण उक्त मोटरसाइकललाई लु ३४ प ७७७ नम्बरको मोटरसाइकलबाट तानेर लैजाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।
पक्राउ परेकाहरु बिरुद्ध चोरी कसुरमा अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको एसपी कार्कीले जानकारी दिए।