काठमाडौंमा एक युवकको हत्या भएको छ।
गएराति काठमाडौंको बत्तीसपुतलीस्थित भित्री सडकको बीच बाटोमा युवकको हत्या भएको हो।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो।
उनीमाथि धारिलो हतियार प्रहार भएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको एसएसपी रजौरेले जानकारी दिए।
घटनाबारे प्रहरीले तत्काल अन्य विवरण सार्वजनिक गरेको छैन।
हत्या गरिएका युवकको शव गएराति प्रहरीले सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्याएको थियो।
अहिले पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।