तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित भएका छन्।
सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार २ हजार ९३८ मत खसेकोमा १५५० मत ल्याएर केसी अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी ललितजंग शाहीले १३४० मत पाए।
केसी कांग्रेसतर्फका उम्मेदवार हुन् भने शाहीलाई एमाले, माओवादी केन्द्र लगायतका दलहरूको समर्थन थियो। १७ पदका लागि भएको निर्वाचनमा केसीसहित उनको टिमका ६ पदाधिकारी र ७ सदस्य निर्वाचित भएका हुन्।
केसी यसअघि संघका महासचिव थिए भने शाह उपाध्यक्ष थिए।
संघको उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विश्व बस्नेत विजयी भए।
बस्नेतले १५९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका हेमेन्द्र खड्काले ११४३ मत मात्रै प्राप्त गरेका थिए।
बस्नेतले खड्काभन्दा ४४७ मत बढी प्राप्त गरे।
निर्वाचित बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाति र पूर्व अध्यक्ष हिमाल बस्नेतका छोरा हुन्।
त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेश राज भण्डारी निर्वाचित भएका छन्।
उनले १५२० मत प्राप्त गर्दा कांग्रेसका खुसलराम शर्माले ११८७ मत प्राप्त गरे। एमालेका राज भण्डारीले शर्मा भन्दा ३३३ मत बढी प्राप्त गरे।
संघको खुल्ला उपाध्यक्षमा कांग्रेसका देवबहादुर केसी निर्वाचित भएका छन्। केसीले १५२० मत प्राप्त गरे।
केसीका प्रष्पिर्धी गठबन्धनका डिल्लीबहादुर वलीले १२११ मत प्राप्त गरेका थिए। केसीले वलीलाई ३०९ मतान्तरले पराजित गरेका हुन्।
संघको महासचिव पदमा पनि कांग्रेसका केशवराज केसी निर्वाचित भएका छन्।
केसीले १५३० मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी गठबन्धनका नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गरे। केसीले डाँगीभन्दा ३२७ मत बढी प्राप्त गरे।
कोषाध्यक्ष पदमा पनि कांग्रेसका रुपेश शर्मा निर्वाचित भएका छन्।
शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका थिए। शर्माले ढकाल भन्दा ३८० मत बढी प्राप्त गरे।
सचिवमा पनि कांग्रेसका नविन राई निर्वाचित भएका छन्। राईले ९६९ मत प्राप्त गरे।
स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८४८ र गठबन्धनका भुपाल रावतले ६८२ मत प्राप्त गरेका थिए। राई निकटतम प्रतिष्पर्धी वली भन्दा १२१ मत बढी प्राप्त गरी निर्वाचित भएका हुन्।
सह–कोषाध्यक्षमा पनि कांग्रेसका दिपेश भण्डारी निर्वाचित भएका छन्।
भण्डारीले ११५६ मत प्राप्त गरे।
गठबन्धनका किशोरकुमार वलीले ११२३ मत प्राप्त गरेका थिए। भण्डारीले वलीलाई ३३ मतान्तरले पराजित गरेका हुन्।
सदस्यमा को- को?
निर्वाचन परिणाम अनुसार सदस्यतर्फ कांग्रेसका कोमल डिसी (कमल) ले १४८९, तिर्थबहादुर डाँगी १५१८ , माधव बस्नेत १४२१, सैलेन्द्रकुमार बुढाथोकी १३७२, सुवाश अधिकारी १२९४ मत प्राप्त गरी विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार एयोसियट सदस्यमा सन्दीपन रिजाल ६९ मत प्राप्त गरी यसअघि नै विजयी भइसकेका थिए। गठबन्धनका उम्मेदवार सुरज ज्ञवालीले ३१ मत मात्रै प्राप्त गरेका थिए।
रिजालले ज्ञवालीलाई दोब्बर बढी ३८ मतान्तरले पराजित गरेका थिए।
त्यस्तै संस्थापक सदस्यमा कांग्रेसकै चिन्तामणि आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
महिला सदस्यहरुमा गठबन्धनका शारदा बस्नेत १२६७ र मिना रावत १२८५ मत प्राप्त गरी निर्वाचित भएका छन्।
नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो।
शनिबार रातिबाट सुरु भएको मतगणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो।
तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३४७१ मतदाता रहेकोमा २९५३ मत खसेको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिए।
संघमा दुई प्यानलबाट १७/१७ जना र एक जना सचिव पदमा स्वतन्त्र उम्मेदवार थिए।