वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। एसएसपी सानुराम भट्टराईका अनुसार २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका हुन्।
काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ बस्ने ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो।
उनी वानएक्स बेट, जुवा ३६५ बेटिङ एपका एजेन्ट रहेको प्रहरीको भनाइ छ।
उनले विभिन्न बैंक खाता, वालेटको प्रयोग गरी दुई अर्ब १ करोड १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
उनले आफू जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आएको पाइएको थियो। उनले बाइनान्समार्फत क्रिप्टो करेन्सीको कारोबार गरिरहेको अनुसन्धानमा देखिएको थियो।
प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गर्ने भएको छ।
थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको छ।