सरकारले प्रहरी कर्मचारीको बढुवा प्रणाली 'अटोमेसन' प्रणालीमा लैजाने भएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममा बढुवा प्रणाली अनुमानयोग्य बनाएर अटोमेसन प्रणालीमा लैजाने भनिएको हो।
त्यस्तै सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरवलोकन गर्ने उल्लेख गरिएको छ। प्रहरीको सेवा निवृत्त हुने अवधि पुनरवलोकन गरी १६ वर्ष बनाउने तयारी सरकारले गरेको हो।
त्यस्तै खुला कारागार सञ्चालनमा ल्याउने नीति सरकारले लिएको छ।
कैदीबन्दीकाे सीप र क्षमता उपयाेग हुने गरी कारागारमा उद्यम सञ्चालन गर्ने पनि भनिएको छ।
त्यसैगरी राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवासुविधासँग आवद्ध गरिने भएको छ।
यसबाहेक गाँजाको औषधीजन्य प्रयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।