रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरूलाई युएईबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने छन्।
एनसिबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनीहरूलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो।
पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बलबहादुरमाथि जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो।
उनी वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुलेपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्न इलाका प्रहरी कार्यालय लेटाङ मोरङले एनसिबी काठमाडौंलाई अनुरोध गरेको थियो। एनसिबीले पुन: अनुरोध गरी इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो।
यसैगरी विद्युतीय कारोबार कसूर सम्बन्धी मुद्दामा सन्तोषमाथि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो। वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनीविरूद्ध इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो।
बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।