काभ्रेपलाञ्चोकमा श्रीमान र श्रीमती मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मान बहादुर बल र उनकी श्रीमती अन्दाजी ५० वर्षीया केकाई माया बल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
बल दम्पती काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका- ४ तीनखुट्टेस्थित जस्ताको घर (टहरा) मा बस्थे।
श्रीमान मान बहादुर घरको पसल कोठामा र श्रीमती केकाई माया भान्छा कोठामा मृत अवस्थामा भएको सूचना प्रहरीले अपराह्न ४ः२० बजे पाएको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय, मंगलटारबाट प्रहरी निरीक्षकको टोली र जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
बल दम्पतीको घर जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट अन्दाजी ४६ किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।