सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जना भ्रष्टाचारी ठहरिएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामान खरिदमा भ्रष्टाचार गरेको अभियोग लगाउँदै गत वर्ष वैशाख ३ गते नौजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेलसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको हो। बाँकी पाँच जनाले सफाइ पाएका छन्।
पौडेललाई अदालतले दुई वर्ष कैद र दामासाहीले हुन आउने बिगो २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ जरिवाना भराउन आदेश दिएको छ।
उनीसहित नवीनकुमार पोखरेल, रोहितमान प्रधान र भुवन महर्जनलाई पनि भ्रष्टाचारी ठहर गरिएको छ। अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिवाना दामासाहीसहित भराउन भनेको छ।
प्रधानको हकमा उक्त रकम बराबरको जरिवाना जफत गर्न भनिएको छ।
महर्जनलाई भने ५ करोड ७९ लाख ६२ हजार १३५ रुपैयाँ बराबर जरिवाना हुने भनिएको छ।
'विकल पौडेलले सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्फर्मर राख्ने गरेको प्रमाणहरूबाट पुष्टि हुन्छ। त्यस्तै सम्झौताको सर्त विपरीत तोकिएको कन्ट्री अफ ओरिजिनबाट जेनेरेटर सेट खरिद नगरी फरक मुलुकमा बनेको जेनेरेटर सेट खरिद गरी भुक्तानी लिएको पाइन्छ,' इजलासले भनेको छ।
त्यस्तै खरिद सम्झौता बमोजिम मर्मतको कामै नगरी झुटा बिलको आधारमा सो कार्यबापतको भुक्तानी दिएको पनि इजलासले जनाएको छ।
'सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्दा प्राथमिकताका आधारमा पूर्वाधार तयारका लागि आवश्यकता पहिचान गरी कार्य सम्पादन गर्नुपर्ने हुन्छ। त्यही सिलसिलामा विद्युत आपूर्तिको सुनिश्चितताका लागि नेपाल विद्युत प्राधिकरणसँग ११ केभी फिडरलाइन जडान गर्न अनुरोध गरी सुरक्षण मुद्रण केन्द्रबाट १ करोड ५४ लाख ८१ हजार ४८० रूपैयाँ उपलब्ध गराएको समेत देखिन्छ,' फैसलामा भनिएको छ।
उक्त फिडरलाइनको पूर्वाधार समेत तयार भई विद्युत लाइन जडान गर्ने काम मात्र बाँकी रहेको अवस्थामा औचित्य र आवश्यकता नै नरहेको तीन लाख लिटर क्षमताको बल्क फ्युल ट्यांक सिस्टम खरिद तथा निर्माण गरी पौडेलले १९ करोड ६२ लाख ४५ हजार ९०९ रूपैयाँ अनावश्यक रूपमा खर्च गरेको देखिएको फैसलामा भनिएको छ। यसरी उनले सरकारी सम्पत्ति हानिनोक्सानी गरेको इजलासले ठहर गरेको छ।
यो मुद्दामा रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय, रामबहादुर बुढा र मित्रलाल गुरौंले सफाइ पाएका छन्।
सम्बन्धित समाचारः २ अर्ब ६९ करोड बिगो माग्दै अख्तियारले हाल्यो सुरक्षण मुद्रण केन्द्रका कर्मचारी र कम्पनीविरूद्ध मुद्दा