दाङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनाका घाइतेमध्ये रोल्पाको गंगादेव गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षीय वीरबहादुर खड्काको उपचारका क्रममा बुधबार दिउँसो लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
खड्काले चलाएको रा ३ प ८२४५ नम्बरको मोटर साइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो भने रूपन्देहीको गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्र सवार लुम्बिनी प्रदेश ए.ए ८७०० नम्बरको मोटर साइकल विपरीत दिशातर्फ आउँदै थियो। मिश्रको बायाँ कुम र कम्मरमा चोट लागेको छ।
रा ३ प ८२४५ नम्बरको मोटर साइकलको पछाडि सवार रोल्पा गंगादेवकै ५७ वर्षीय कमानसिंह खत्रीको बायाँ हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले सेतोपाटीलाई बताए।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार दिउँसो १:४० बजेतिर दाङको लमही नगरपालिका–१ नर्ती चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।
रोल्पाका खत्रीको आफन्त आइरहेको हुँदा लमहीमा उपचार भइरहेको छ भने रूपन्देही गैंडाकोटका मिश्रलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक भुसालले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।