धनुषामा क्रसर उद्योगमा काम गरिरहेका एक युवकको मृत्यु भएको छ।
गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा बुधबार दिउँसो मेसिन सफा गर्ने क्रममा फित्तामा बेरिएर स्थानीय २० वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा यादव मृत भेटिएका थिए।
त्यहीँ काम गरिरहेका बाराको निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर घाइते रहेको उनले बताए।
मगरको अवस्था सामान्य रहेको र गोदारस्थित निजी अस्पतालमा उपचार भइरहेको डिएसपी अवाको भनाई छ। मृतक यादवको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।