ललितपुरको ग्वार्कोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक पक्राउ परेका छन्।
बुधबार राति ९: ५० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक पक्राउ परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।
बा ३ ख ६६२१ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा घर भई काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि ग्वार्कोको बिएण्डबी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो।
टिपरले ठक्कर दिएपछि फरार भएको थियो। प्रहरीले ग्वार्कोमा रहेको सिसिटिभीबाट उक्त टिपरको पहिचान गरेको थियो।
टिपरको पहिचानपछि सिसिटिभी फुटेजकै आधारमा प्रहरीले टिपर चालक गोदावरी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय छेइसाङ तामाङलाई पक्राउ गरेको हो।
उनी गोदावरी क्षेत्रमै बस्थे। त्यहीँबाट प्रहरीले पक्राउ गरेको एसपी सुवेदीले बताए। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।