२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको दिन बिहीबार हजारौं पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले बिहीबार ५० हजार जनाभन्दा बढी पर्यटकले लुम्बिनी भ्रमण गरेको दाबी गरे।
बुद्ध जयन्तीको अवसरमा विगत तीन-चार दिनदेखि नै लुम्बिनीमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरू भएको थियो। कोषले बिहीबार बुद्ध जयन्ती मनाइरहँदा पर्यटकको घुइँचो लागेको हो।
कोषले बिहानै निकालेको शोभा यात्रादेखि बुद्ध जयन्तीको मूल समारोह र साँझको दीप प्रज्ज्वलन कार्यक्रममा हजारौं पर्यटक सहभागी भए। साँझ मायादेवी मन्दिरमा दर्शनका लागि पर्यटकको भिड अनियन्त्रित भएपछि कोषले १५ मिनेट प्रवेशद्वार बन्द गर्नुपरेको थियो।
मायादेवी मन्दिर परिसरमा भिड खचाखच भएपछि उत्तरतर्फको मुख्य गेटसँगै पूर्वी गेट समेत खोलेर आवतजावत सहज बनाइएको राईले बताए।
पर्यटकका कारण लुम्बिनीका होटल तथा गुम्बाका कोठा भरिभराउ बनेका छन्।