काठमाडौं महानगरपालिकाले बसन्तुपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काउने तयारी गरेको छ।
२०७२ को भूकम्पले क्षति पुर्याएको यो भवन टेको लगाएर राखिएको छ।
काठमाडौं महानगर वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले संस्कृत विश्वविद्यालयको भवन भत्काउने तयारी गरिएको जानकारी दिए।
उनकाअनुसार 'रेड जोन'मा परेको उक्त विद्यालयको संरचना आगामी आर्थिक वर्ष भत्काउने योजना छ।
'रेड जोनमा परेको उक्त विद्यालय भवन भत्काउनुपर्छ भनेर धेरै पहिले नै योजना बनाइएको थियो,' उनले भने, 'पुरातत्व विभागले नै भत्काउने भनेपछि लागत अनुमान गरेको थियो। तर भत्काउन एक करोड लागत अनुमान निस्किएपछि बजेट जगेडा नभएर विभाग पछि हटेको थियो।'
अर्कातिर विद्यालय त्यतिकै टेको लगाएर राख्दा दुर्घटना होला भनेर पनि वडाबाटै भत्काउन उनले पहल लिएको उनी बताउँछन्।
'पुरातत्वले बजेट अभावका कारण भत्काउन नसकेपछि मैले मेयरसँग कुरा पनि गरेको थिएँ,' उनले मेयर बालेन शाहको भनाइ उद्धृत गर्दै भने, 'त्यसो भए कसरी मिल्छ वडाबाटै काम गर्नू भन्नुभयो।'
मेयर बालेनले नै स्वीकृत दिएपछि महर्जनले कसरी काम गर्न सकिन्छ भनेर खोजेका थिए। उक्त काम उपभोक्ता समितिमार्फत् गर्न सकिन्छ कि भनेर समेत हेरे। तर समितिमार्फत् भत्काउने काम गर्न नमिल्ने देखेपछि वडा पछि हटेको थियो।
तर महानगरले अगामी बजेटमा उक्त विद्यालय भत्काउन बजेट छुट्याउने योजना भएको उनले बताए। त्यसका लागि पुरातत्व विभागले पुरातत्विक महत्व भएका विद्यालयका संरचनाहरूको नाप पनि लिइसकेको छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी