आर्थिक प्रलोभन देखाएर नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मानब बेचबिखन अनुसन्धान ब्युरोले यसमा संलग्न दुई जना महिलालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका-९ की २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ की २६ वर्षीया निशा भन्ने रमिला नेपाली पक्राउ परेका हुन्। उनीहरू शुक्रबार काठमाडौं महानगरपालिका-७ बाट पक्राउ परेका थिए।
एसपी मिश्रका अनुसार उनीहरूले नाबालिकालाई राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारी काममा लगाएका थिए। रेष्टुरेन्टमा वेटरको काम भन्दै खाजा खान आउने व्यक्तिहरूसँग जबरजस्ती शारिरिक सम्पर्क राख्न बाध्य पारेको खुलेको हो।
यसरी उनीहरूले पीडितलाई दैनिक ५ देखि १५ जना ग्राहकहरूसँग शारिरिक सम्पर्क राख्न बाध्य पारेको प्रहरीले जनाएको छ। शारिरिक सम्पर्क राखे बापत आधा रकम दिने भनिएपनि त्यो पनि नदिएको खुलेको हो।
यसरी जबरजस्ती यौन व्यवसायमा लगाएको भन्दै सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचनाको आधारमा खटिएको ब्युरोको टोलीले नाबालिकाको उद्धार गरी आरोपी दुबै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।