मुगुको मुगमकार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा पसेका लुटेराको समूहले २३ घर र एक गुम्बामा लुटपाट गरेको छ।
शनिबार राति ११ बजेतिर गाउँ पसेको हतियार सहितको लुटेराको समूहले गरेको लुटपाटका क्रममा चार जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटनामा गाउँका ५३ वर्षीय दोर्जे तामाङ, १८ वर्षीया शान्ति टोमा तामाङ, १७ वर्षीय पेमा दोर्जे तामाङ र २६ वर्षीया टोमा छाम्जे तामाङ घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी वीरबहादुर वलीले जानकारी दिए।
‘घरहरूबाट गरगहना, नगद लुटपाट भएको भन्ने आएको छ, यकिन मुचुल्का भएर आएको छैन,’ उनले भने, ‘यसमा प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेका छौं, अनुसन्धानकै क्रममा प्रहरी हरेको छ।’
शनिबार राति गाउँमा भएको उक्त घटनाबारे आइतबार बिहान ११ बजे प्रहरीलाई खबर भएको थियो।
गाउँका युवाहरू यार्सागुम्बा टिप्न पाटन गएको मौका छोपेर लुटेराको समूह गाउँ छिरेको हो।
गाउँमा लुटेरा समूह पसेर गरेको लुटपाटका बारेमा कर्णाली प्रदेश सभामा पनि ध्यानाकर्षण गराइएको छ। सांसद जीतबहादुर मल्लले सोमबारको बैठकमा घटनाको बारेमा ध्यानाकर्षण गराएका हुन्।