तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीलाई पाँच दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको हो।
जिल्लाको तापक्रम ३९ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। त्यसैलाई मध्यनजर गर्दै १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार जेठ २३ गतेदेखि पठनपाठन नियमित हुनेछ।
यसअघि अत्यधिक गर्मी बढेपछि दाङका तीन स्थानीय तहले दुई दिन विद्यालयमा विदा दिएका थिए।
देउखुरी उपत्यकाका लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले वैशाख १७ र १८ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक सूचना मार्फत गरेका थिए।
अत्यधिक गर्मी बढेका कारण विद्यार्थी बेहोश हुने गरेको, शरीरमा एलर्जीहरू देखा परेको, स्वास्थ्य समस्या देखा परेका जारी सूचनामा उल्लेख गरिएको छ।
दाङमा बुधबार अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। न्यूनतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस र हावामा ओसको मात्रा ३१ प्रतिशत रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जानकारी दिएको थियो।
