सल्यानको कपुरकोटमा शुक्रबार दिउँसो भएको जिप दुर्घटनामा परी पाँच जना यात्रु घाइते भएका छन्।
घाइते हुनेमा रोल्पाको गंगादेव गाउँपालिका– २ की २८ वर्षीया संगीता वली, २७ वर्षीया नन्दी वली, ४२ वर्षीया पिली डाँगी, १८ वर्षीया चन्द्रा भण्डारी र ३२ वर्षीय मदन भण्डारी रहेका छन्।
घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ। उनीहरू सबैको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
दिउँसो करिब ४ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका – ३ ढोरेनीमा ग १ ज ५७४२ नम्बर जिप ब्रेक फेल भई सडक किनारमा पल्टिन पुगेको थियो।
जिप सल्यानको कपुरकोट भित्री सडक खण्डबाट दाङको तुलसीपुरतर्फ आउँदै थियो। घटनास्थल कपुरकोट प्रहरी चौकीबाट झन्डै ७ किलोमिटर दक्षिणमा पर्ने सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।