मधेस प्रदशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन शनिबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका छन्।
मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरू मधेस प्रदेशका उद्योगीहरूलाई आग्रह गरेका छन्।
शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औंल्याए।
'स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो,' उनले भने।
यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री अर्यालले विश्वास व्यक्त गरे।
'सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान अवधारणा सुरू गरेका हौं। यो कार्यक्रम सुरूआत हो,' उनले भने। भविष्यमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ छ।
देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था औंल्याउँदे मधेसको युवा पुस्तामा यस्तो समस्या अझ धेरै रहेको उनले बताए।
मधेस प्रदेशका सबै नागरिकलाई यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे। उनले रोजगारीको खोजीमा भौतारिरहेकाहरूलाई मेलामा सहभागिताका लागि आग्रह गरे।
सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए। नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालको भनाइ छ। मन्त्रालयले अझ उत्कृष्ठ काम गर्ने पनि विश्वास दिलाए।
केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासा राख्न पनि मन्त्री अर्यालले आग्रह गरे।
मधेस प्रदेश श्रम तथा यातायात मन्त्री वेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
मेलाबाट बढी भन्दा बढी मधेस प्रदेशका युवाले लाभ लिने विश्वास पनि उनले व्यक्त गरिन्।
'मधेस प्रदेशमा बेरोजगारी समस्या व्यापक छ। यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ। यो मेलाले ठूलो योगदान पर्यापउँछ भन्ने अपेक्षा छ,' उनले भनिन्।