काठमाडौंमा पानी परेको छ।
उपत्यकामा शनिबार बिहानैदेखि मौसम बदली देखिएकोमा अपराह्नपछि तीन वटै जिल्लाका विभिन्न ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भएको हो।
पानी पर्दा काठमाडौंको तापक्रम केही घटेको छ। बिहीबार ३४ डिग्री सेल्सियस पुगेको काठमाडौंको तापक्रम शनिबार दिउँसो २८ डिग्री सेल्सियसमा झरेको छ।
मौसमविद मीनकुमार अर्यालका अनुसार काठमाडौंसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्यूठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम पानी परिरहेको छ।
पश्चिमी भूभागहरुमा भने पानी परेको छैन। पानी नपर्दा पश्चिम तराईमा तापक्रम ४४ डिग्री सेल्सियस नाघिसकेको छ। महाशाखाले भोलिसम्म पनि ती क्षेत्रहरूमा पानी नपर्ने भनेको छ।
काठमाडौंमा भने बदली हुने, क्षणिक वर्षा हुने र घाम लाग्ने भइरहेको मौसमविद अर्यालले बताए।