चितवनको कुमरोज सामुदयिक वनको दराई बोटे ताल नजिकै सफारी जिप दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना भारतीय पर्यटक घाइते भएका छन्।
शनिबार साँझ साढे ६ बजेतिर ना ४ च ८८५५ नम्बरको सफारी गाडी अनियन्त्रित भएर पल्टिएको थियो।
दुर्घटनामा भारतको मुम्बई बेण्डाली थाना बस्ने ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखा रामचन्द्र जादव, ६० वर्षीय सुदेशशंकर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पंकज गुप्तेश्वर घाइते भएका छन्।
दुई जनाको पुरानो मेडिकल कलेज र चार जनाको बकुलहर रत्ननगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।
उनीहरूको हात र खुट्टामा चोट लागेको छ।
सफारी जिप चालक चितवनको रत्ननगर-४ बस्ने ४५ वर्षीय सन्तकुमार चौधरीलाई नियन्त्रणमा लिएको डिएसपी रिजालले बताए।