नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे संरक्षण अभियानमा ऐक्यबद्धता जनाएका छन्।
'चुरे बचाऊ: हामीलाई पानी देऊ’ भनेर चुरे प्रभावित क्षेत्रका जनताले माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्।
उक्त धर्नामा बुधबार ऐक्यबद्धता जनाएका महरले सरकारलाई चुरे संरक्षण र वातावरण जोगाउन ध्यानाकर्षणसमेत गराएका थिए।
सप्तरीको भारदहबाट २५ दिन हिडेर काठमाडौं आएका उनीहरू १४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छन्।
वातावरण दिवस अवसरमा आफूले चुरे संरक्षण अभियानलाई ऐक्यबद्धता जनाएको महरले बताए।
जनताले चुरे तथा वनजंगलको संरक्षण गर्न माग गरे पनि सरकारले नसुनेको महरको भनाइ छ।
'उहाँहरूको आन्दोलन शालिन छ, माग जायज छन्,’ उनले भने, ‘उहाँहरूको चिन्तालाई सरकारले महसुस गरेर माग सम्बोधन गर्नुपर्थ्यो। तर सरकार कानमा तेल हालेर सुतेको छ। त्यसैले सरकार र सदनको ध्यानाकर्षण गराउन धर्नास्थलमा आएको हुँ,' महरले भने।
चुरे विनासले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा भएको उनको भनाइ छ। चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको संकटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले नजरअन्दाज गर्न नहुने महरले बताए।