दाङमा प्रहरीले आठ वर्षीया बालिका बालात्कार गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार भारत उत्तर प्रदेश बलरामपुरका ४४ वर्षीय दिननाथ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रवक्ता जनक मल्लले जानकारी दिए।
उनका अनुसार दिननाथ घोराही उपमहानगर-१७ गैरागाउँस्थित एक ग्रिल उद्योगमा काम गर्थे।
'स्थानीय एक बालिका दिननाथकहाँ मोबाइल चलाउन आऊजाऊ गर्दी रहिछन्,' उनले भने, 'जेठ २१ गते बेलुका ८ बजे पनि बालिका दिननाथकोमा मोबाइल हेर्न गएकी रहिछन्।'
सोही बेला दिननाथले बालिकालाई आफ्नो कोठामा जबरजस्ती बलात्कार गरेको जाहेरी परेको डिएसपी मल्लले बताए।
'पीडित बालिकाकी आमाले घटना भएकै राति प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन्,' उनले भने, 'मंगलबार बिहानै जाहेरी दिएपछि पक्राउ गरेका हौं।'
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।