अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना नापी सर्वेक्षकलाई घुससहित पक्राउ गरेको छ।
कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई शुक्रबार ५० हजार घुससहित पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो।
उजुरीको आधारमा बुटवलस्थित अख्तियारको टोली खटिएको थियो।
टोलीले स्टिङ अपरेसन गरी गुप्तालाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा खुलेको थियो।
त्यस्तै, उनीबाट स्रोत नखुलेको ५० हजार रुपैयाँ पनि बरामद भएको प्रवक्ता घिमिरेले बताए।
अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।