शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने सहयात्रा–३ परियोजना कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा लागु भएको छ।
बालबालिका, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनमार्फत् लागु भएको उक्त परियोजनाले जुम्ला, कालीकोट, दैलेख र जाजरकोटका केही पालिकामा काम सुरू गरेको छ।
जुम्लाको तातोपानी गाउँपालिका, कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिका, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका तथा जाजरकोटको छेडागाड नगरपालिकामा परियोजना लागु भएको सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक विष्णुकुमार बमले जानकारी दिए।
उनका अनुसार बालविकास, प्राथमिक तह उमेरका बालबालिकाहरू, विशेषगरी बालिका, यौनिक अल्पसंख्यक, गरिबी र पिछडिएका बालबालिकाहरूको समूह, अपांगता भएका तथा किशोर अवस्थाका बालबालिकालाई लक्षित गरेर परियोजनामार्फत् कार्यक्रम सञ्चालन गरिनेछ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, नगर तथा गाउँ शिक्षा समिति, बाल अधिकार सञ्जाल लगायत सरोकारवाला निकाय पनि यो परियोजनाको लक्षित समूहभित्र रहेको बमले जानकारी दिए।
ग्रामीण क्षेत्रका जोखिममा रहेका र बञ्चितिकरणमा परेका बालबालिकाहरूको शिक्षा, संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य र उत्थानशिलताको अधिकार सुरक्षित गर्दै बालबालिकाको अधिकार सुनिश्चितामा परियोजनाले भूमिका खेल्ने उनले बताए।
बाल अधिकार शासन, बाल संरक्षण, शिक्षा, जलवायु परिवर्तनसँग सम्बन्धित रहेर परियोजनामार्फत् काम गरिनेछ।
सहयात्रा–३ परियोजना लागु भएका जिल्लाहरूमा गैरसरकारी संस्थाहरू सोसेक नेपाल, किर्डार्क, पाँचतारा युवा संरक्षक मञ्च, भिडिसेफ लगायतसँग साझेदारी रहनेछ।
सन् २०२४ देखि लागु भएको यो परियोजनाको अवधि पाँच वर्ष रहेको छ।
यसअघि सन् २०१३ बाट सेभ द चिल्ड्रेनले कर्णालीका विभिन्न जिल्लामा सहयात्रा–१ र २ लागु गरेको थियो।
अघिल्ला ती परियोजनाको सफलतापछि तेस्रो परियोजना लागु गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले बताए।
सरोकार राख्ने निकाय, व्यक्ति तथा विकास साझेदार अन्य संस्थाहरूको सहयोगमा अघिल्ला दुई परियोजनामा सफलता मिलेकोले अबका दिनमा पनि सहयोग पाउने अपेक्षा राखिएको ओझाले बताए।