दाङमा बसले अटोलाई ठक्कर दिँदा त्यसमा सवार पाँच जना घाइते भएका छन्।
शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
प्रहरी निरीक्षक थापाका अनुसार अटो चालक तुलसीपुर उपमहानगरपालिका- ५ का २९ वर्षीय अंकित गुप्ता पनि घाइते छन्।
अन्य घाइतेहरूमा सल्यानको कुमाख गाउँपालिका-५ कि २६ वर्षीय रिता बोहरा र उनकी ६ वर्षीय छोरा केशब बोहरा, १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी छन्।
छबिलालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए। उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।
बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।