पाल्पाको तिनाउ खोलामा डुबेर दुई दिनको अन्तरमा दुई जना भारतीय युवाको मृत्यु भएको छ।
भारतको गोरखपुर थाना सैजन्वा रङ्गौलीग्रामका १५ वर्षीय आर्यन कुमारको आइतबार दिउँसो डुबेर मृत्यु भएको थियो। आ
तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित बुटवल पावर कम्पनीको ड्याममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार भारतबाट घुम्न आएका १५/१६ जना युवा आइतबार दिउँसो विद्युतको ड्यामसाइडमा पौडी खेल्न पुगेका थिए।
पौडी खेल्ने क्रममा अचानक ड्यामसाइडको गहिरो रहमा डुबेका आर्यनलाई दोभान प्रहरीले मृत अवस्थामा फेला पारेको हो।
यसअघि शनिबार दिउँसो पनि पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सास्थित तिनाउ खोलामा डुबेर अर्का भारतीय युवकको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमद शनिबार दिउँसो नुहाउने क्रममा खोलामा डुबेका थिए।
फहिम पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा प्रहरीले उनलाई मृत घोषणा गरेको थियो।
प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।
वैशाख जेठको चर्को गर्मी छल्न भन्दै रुपन्देहीबाट मात्र होइन भारतको सुनौली, नौतनहवा, गोरखपुरबाट समेत हरेक दिन सयौं युवायुवतीहरु तिनाउ नदी, झरनामा पुग्ने गर्छन्।