केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ।
बैंकिङ कसुरमा संलग्न भएको आरोपमा सिआइबीले सोमबार ९ जनालाई पक्राउ गरेको हो। यसअघि ८ जना पक्राउ परेकोमा थप एक जनालाई पछि पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अध्यक्ष राजेशकुमार श्रेष्ठ, सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा.डा. गिता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र सिएडी सेक्सन चिफ शिवगोपाल रिसाल छन्।
सिआइबीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को कसुर अनुसार पक्राउ गरेको प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत तत्कालीन सेञ्चुरी बैंकको रकम हिनामिना गरेको आरोप छ। अहिले उक्त बैंक प्रभु बैंकसँग मर्ज भइसकेको छ।
सिआइबीले सातदोबाटोको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम हिनामिनाको अनुसन्धान गरेको थियो। उक्त सहकारीका अध्यक्ष रविन्द्र चौलागाई हाल पुर्पक्षको लागि थुनामा छन्।
उनले र उनी आवद्ध चार कम्पनीलाई तत्कालीन सेञ्चुरी बैंकले ऋण प्रवाह गरेको अनुसन्धानमा खुलेको थियो।
चौलागाईंले बैंकका कर्मचारी तथा पदाधिकारीहरूसँग बैंकको रकम हिनामिना गर्ने उद्देश्यले परिवार भित्रका नातेदारका नाममा पूजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिष्टिलरी प्रालि कम्पनी खडा गरेका थिए।
यसरी राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधिनभन्दा बाहिर गएर पक्राउ परेका व्यक्तिहरूले चौलागाईंसँग मिलेमतो गरेको आरोप छ।
एसपी बोगटीका अनुसार उनीहरूले ती कम्पनीमा भएको वास्तविक कारोबार रकम भन्दा बढी कारोबार गरेको भनेर आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाएको खुलेको छ।
मूल्य अभिवृद्धि करको कागज बनाएर, नभएको कारोबारको स्टक तथा रिसेभेबल्स देखाएर गलत वित्तीय विवरण तयार गरेको, नक्कली लेखा परीक्षण समेत बनाएको आरोप छ।
पक्राउ परेका ९ जनाले विभिन्न भूमिका निर्वाह गरी विभिन्न शीर्षकमा धितोले थाम्ने भन्दा अत्यधिक बढी रकम दुई अर्ब ३० करोड ८१ लाख प्रवाह गरेको सिआइबीले जनाएको छ।
यसरी ऋण प्रवाह गरेको मुद्दामा पहिलो चरणको अनुसन्धानमा सिआइबीले तत्कालीन सञ्चुरी बैंकका सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो।
उनीहरूविरूद्ध फागुन १४ गते मुद्दा दर्ता भएको थियो। पक्राउ परेका न्यौपानेसहितका व्यक्तिहरू पछि धरौटीमा छुटेका थिए।
त्यसमाथि दोस्रो चरणको अनुसन्धान गरी सिआइबीले तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ समेतको संलग्नता खुलाएको एसपी बोगटीले बताए।
अदालतबाट पक्राउ अनुमति लिएर सिआइबीले थप अनुसन्धान अघि बढाएको हो।
यो पनि: सेञ्चुरी बैंकका पूर्वसिइओसहित पक्राउ प्रकरण: धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह