नेपाल प्रहरीमा प्रहरी उपरीक्षक(एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका चार जनाको पदस्थापन भएको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएका चार जना एसएसपीको पदस्थापन गर्ने निर्णय भएको हो।
गण्डकी प्रदेश प्रहरी गण पोखरामा रहेका श्यामकृष्ण अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढीमा पदस्थापन भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका रविन्द्र रेग्मीको गण्डकी प्रदेश प्रहरी गणमा पदस्थापन भएको हो।
कोशी प्रदेश प्रहरी गण विराटनगरमा रहेका भिमबहादुर दाहालको कोशी प्रदेश प्रहरी कार्यउलय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा रहेका नान्तीराज गुरूङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा विरेन्द्रनगरमा पदस्थापन गरेको छ। यद्यपि उनलाई काजमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा खटाइएको छ।
त्यसैगरी प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका चार जनाको पनि पदस्थापन भएको छ।
अपराध अनुसन्धान विद्यालय मानवस्रोत व्यवस्थापन शाखाबाट प्रदिपबहादुर क्षेत्रीलाई कोशी प्रदेश प्रहरी गणमा खटाइएको छ।
नारायण रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगाबाट मधेश प्रदेश प्रहरी गण जनकपुरमा पदस्थापन गरेको छ।
अनन्तराम शर्मालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयबाट गण्डकी प्रदेश प्रहरी गण र विपद व्यवस्थापन कार्यालयमामा रहेका एकनारायण कोइरालालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा खटाइएको हो। उनलाई नेपाल प्रहरी अस्पतालमा काजमा राखिएको छ।
यस्तै तीन जना एसपीको सरूवा समेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी काजीकुमार आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र हरिहरनाथ योगीलाई मधेश प्रदेश प्रहरी गणबाट बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरूवा गरिएको छ।। उनलाई काजमा महानिरीक्षकको सचिवालयमा खटाइएको छ।
मानब बेचबिखनमा रहेका ज्ञानेन्द्रप्रसाद फुयाललाई पश्चिम नवलपरासीमा सरूवा गरिएको छ।