झापामा दुई जना बच्चा र आमा मृत फेला परेका छन्।
शुक्रबार बिहान शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।
आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका हुन्।
आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। विशाल र आयुष बेडमा मृत भेटिएका हुन्।
‘दुई जना बच्चा र आमा मृत फेला परेका हुन्। अहिले थप भन्न सकिने अवस्था छैन। अनुसन्धान हुँदैछ,’ एसपी केसीले भने।
प्रहरीका अनुसार घटनास्थलमा बमिट समेत गरिएको देखिएको छ। त्यस्तै विषादी समेत गन्ध आइरहेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केसी र चिकित्सकको टोली घटनास्थलतर्फ जाँदैछन्।
यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।