बारामा एक जना क्याम्पस प्रमुखमाथि गोली प्रहार भएको छ।
कलैयास्थित रहेको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले कुशवाहामाथि गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए।
‘उनी घरतिर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाटै गोली हानेका रहेछन्। कुशवाहाको पिठ्युँमा गोली लागेको छ,’ उनले भने।
डिएसपी न्यौपानेका अनुसार घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।
गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।