रोल्पाको दुर्गम क्षेत्र रोल्पाको जिनावाङ पुग्ने सडक स्तरोन्नति हुने भएको छ।
कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको जिनावाङ क्षेत्रको पहुँचका लागि ८० करोडको सडक योजना आएको छ।
आर्थिक वर्ष २०८१/०८२को कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक स्तरोन्नति हुने भएको हो।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले जिनावाङलाई प्रदेशकै नमुना कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना भ्रमणका क्रममा उल्लेख गरेका थिए।
सोही योजनाअनुसार चौधरीले संघीय सरकारमार्फत समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक योजनामा पारिएको बताए।
मुख्यमन्त्री छँदा चौधरी जिनावाङ पुगेर त्यहाँका किसान संग सडक स्तरोन्नति हुने आश्वासन दिएका थिए।
त्यस क्षेत्रको विकास र प्रबर्द्धनका लागि सरकारको तर्फबाट सडक स्तरोन्नति र कृषि तथा फलफूलको पकेट क्षेत्र निर्माण गर्ने प्रतिवद्धता जनाएअनुरुप आफूले काम गरेको चौधरीले बताए।
‘मैले बिकट भूगोलका किसान तथा सर्वसाधारण संग गरेको वाचा पुरा गर्नेगरी काम सुरु गरेको हुँ,’ चौधरीले भने ‘सल्यान र रोल्पाको सीमाना अन्तर्गत त्रिवेणी गाउँपालिकाको निगालपानीदेखि गंगादेव गाउँपालिकाको जिनावाङसम्मको सडक निर्माण कार्य भने जसरी भइदिए त्यहाँको उत्पादन दाङका बजारसम्म पुर्याउन सहज हुने छ।’
स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुगोस् भन्ने उदेश्यले बजेट व्यवस्थापन गरिएको कांग्रेस नेता चौधरीले बताए।
लुम्बिनीको बिकासका लागि र कृषि क्षेत्रको नमुना विकासका लागि ‘जिनावाङ मोडेल’ आवश्यक रहेको चर्चा गर्दै आएका चौधरीले जहाँ उत्पादन त्यहाँ सडक पुर्याउन राज्यले ध्यान दिन जरुरी रहेको बताए।
‘सरकारका रहदा गरेको प्रयास अहिले देखिन थालेको छ,’ उनले भने ‘ त्यो सडक बन्यो भने जिनावाङको उत्पादन दाङ र अन्य ठूला सहर बजारमा पुर्याउन सहज हुने छ।’ त्यसले त्यहाँका किसानको आयस्तर वृद्धि हुने उनले बताए।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले सडक योजनालाई सफल पार्न आफूहरु खटिने बताए।
‘जिनावाङ र त्रिवेणी मार्ग भनेको जस्तै गरि छिटो बन्यो त्यसले सिंगो पश्चिम रोल्पालाई विकास संग प्रत्यक्ष जोड्ने छ,’ उनले भने।
रोल्पा सडक पूर्वाधारका प्रमुख हेमन्त रोकाले पनि यो पटक जिल्लामै ठूलो योजना जिनावाङ र त्रिवेणी मार्गका लागि आएको हुँदा अब त्यो काम समयमै पूरा गर्नेतर्फ सबैले सघाउनुपर्ने बताए।
यो पनिः आलुले फेरिदिएको एउटा गाउँ