असार २० भित्रै दाजु शंकर थापालाई उपस्थित गराउने सर्तमा तुलसीपुर उपमहानगरपालिका – ४ बनहरीका ६० बर्षीय नेपबहादुर थापालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।
शनिबार वडा प्रहरी कार्यालयमा भएका छलफल र आइतबार वडा कार्यालयमा उपस्थित भइ कागज गर्ने सहमति पछि प्रहरीले नेपबहादुरलाई छाडेको हो।
तुलसीपुर – ४ का वडाध्यक्ष तुलसी थापाले असार २० गते भित्रै नेपबहादुरले ४८ वर्षदेखि बेपत्ता भएको भनिएका उनका दाइ शंकरलाई वडा कार्यालयमा छलफलका लागि सशरीर उपस्थित गराउने सहमति भएको छ।
केही दिन पहिले मात्रै भारतको नागाल्यान्डबाट ४८ वर्षपछि घर फर्किएका भनिएका ६८ वर्षीय शंकर थापा जेठ २० गते मात्रै अदालतमा आफै उपस्थित भइ आफूहरु सहोदर दाजु भइ भएको दाबी गरेका थिए। तर, लगत्तै उनी भारतको नागाल्यान्ड फर्केका थिए।
‘आइतबार वडा कार्यालयमा गइ भएका सहमति लिखित रुपमा कागज गर्ने सहमति भएको छ,’ वडाध्यक्ष थापाले भने ‘असार २० गते भित्रै शंकर थापालाई वडा कार्यालयमा उपस्थित गराउने भन्ने सहमति नेपबहादुरले गर्नुभएको छ।’
खाद्रे प्रहरी चौकीका प्रमुख असइ नन्द शाहीले छलफलका क्रममा पनि नेपबहादुरले दाजु शंकर थापा आफ्नो सहोदर दाजु भएको दाबी गरेका थिए।
त्यसपछि सत्य तथ्य पत्ता लगाउन असार २० गते भित्रै दाजु शंकरलाई गाउँमा उपस्थित गराउन भाइ नेपबहादुर सहमत भएका थिए।
नेपबहादुरले शनिबारको छलफलमा काम विशेषले दाजु शंकर फेरि भारत फर्किएको भन्दै आफूले कुनै जालसाझी नगरेको र शंकर आफ्नो सहोदर दाजु रहेको बताएका थिए।
गाउँमा सोधपुछ र अनुसन्धानका साथै आवश्यक परे डिएनए परीक्षणसम्मका कार्यहरु वडा कार्यालयवाटै गर्नेबारे छलफलमा सहमति भएको थियो। त्यही छलफलका क्रममा उठेका कुराहरु वडा कार्यालयमा लिखित रुपमा गर्ने निर्णय भएको छ। त्यसका लागि आइतबार नेपबहादुरलाई आइतबार वडा कार्यालय आउन भनिएको छ।
तुलसीपुर – ४ वडा कार्यालयले नेपबहादुरलाई उपस्थित गराइ छलफल गराइ दिन दिएको निबेदनका आधारमा सोधपुछका लागि शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकी खाद्रेमा राखेको थियो।
त्यस पूर्व नेपबहादुरले जालसाँची पूर्वक शंकरलाई नक्कली दाजुको रुपमा खडा गरेको भन्दै मणिकला महतराले वडा कार्यालयमा निष्पक्ष छानविनका लागि निवेदन दिएकी वडाध्यक्ष थापाले बताए।
शंकरकी छोरी छोरी तुलसीपुर – ७ झमर्रेकी मणिकला महतराले २०७९ फागुन १४ गते दाङ जिल्ला अदालतमा बुवा शंकर थापा लामो समयदेखि सम्पर्कविहीन रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरी पाउँ’ भन्दै निवेदन दिएकी थिइन। साथै उनले बाबुको नामको सम्पत्ति आफूले पाउनुपर्ने माग पनि गरेकी थिइन।
सोही निवेदनका अधारमा सोही वर्ष चैत ५ गते अदालतका कर्मचारी वनहरी गाउँमा सर्जमिन गर्न गएका थिए।
तर, त्यसको एक महिनापछि, २०८० वैशाख ५ गते, शंकरका भाइ नेपबहादुरले स्थानीयवासीको बयान र सर्जमिनको मुचुल्का गलत रहेको दाबी गर्दै अदालतमा जालसाजी मुद्दा दायर गरेका थिए।
यो पनिः ४८ वर्षपछि भेटिएको दाइ भारत फर्किए, भाइलाई प्रहरीले लियो नियन्त्रणमा
बावुको मृत्यु प्रमाणित गर्न छोरी अदालत पुगेपछि...