तापक्रम अत्यधिक बढेर बन्द गरिएका दाङका विद्यालयहरू आज पनि नखुल्ने भएका छन्।
जिल्लाका १० मध्ये आठ पालिकाले दुई दिन पहिले गर्मीका कारण दुई दिन विद्यालय बन्द गरेका थिए।
यसबीच पानी नपरेपछि तुलसीपुर उपमहानगरपालिकासहित अधिकांश पालिकाले आजपनि विद्यालयमा बिदा दिएका छन्।
सोमबार सार्वजनिक बिदा रहेको हुँदा त्यो दिनसम्म पनि पानी नपरे बिदा थप लम्बिन सक्ने सरोकारवालाहरु बताउँछन्।
जिल्लाको अधिकतम तापक्रम शालाखाला ३९ डिग्री सेलसियस पुगेको छ।
जेठ १५ यता दुई पटक दाङको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेलसियससम्म पुगेको छ। जो १२ वर्ष यताकै बढी तापक्रम हो।
लामो समयदेखि पानी नपर्दा गर्मी निकै बढेको छ भने दिउँसोमा तातो हावा चल्ने गरेको छ। अत्यावश्यक काम परेका बाहेक दिउँसोमा मानिसहरु घर बाहिर निस्कन छोडेका छन्।
लामो समयदेखि पानी नपर्दा मकैका बोटहरु सुक्न थालेका छन् भने धानको ब्याड राखेका खेतहरु पटपटी फुट्न थालेपछि किसान चिन्तित छन्।