काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीमा रहेको बोधिचित्तको रुख काटेको आरोपमा पक्राउ परेका एक जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ।
जिल्ला अदालत काभ्रेका न्यायाधीश राजेन्द्र नेपालीले पक्राउ परेका सिजन भन्ने मानबहादुर तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएका हुन्। यो आदेश जेठ २८ गते भएको थियो।
प्रहरीले उनीसँगै धिरज भन्ने श्यामकृष्ण मैनाली र प्रभात भन्ने दुर्गालाल तामाङलाई पनि पक्राउ गरेको थियो। तर मैनाली र तामाङविरूद्ध हाललाई मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको थियो।
योसँगै यसमा संलग्न अर्का एक जना पनि प्रहरीकै हिरासतमा छन्। महावीर महेश चौधरी भनिने विश्वनाथ चौधरी हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन्। उनी आपराधिक उपद्रवसम्बन्धी कसुरमा हिरासतमा छन्।
अदालतले उनको बयान लिनका लागिसमेत आदेश दिएको छ।
सरकारी वकिल कार्यालय काभ्रेले यस घटनामा चिनियाँ नागरिकसहित ८ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो। जसमध्ये दुई जनालाई मात्रै प्रहरीले पक्राउ गरेको हो।
कवीन्द्र तामाङ, रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान, अजय भन्ने रामजी श्रेष्ठ र चिनियाँ नागरिक याङ कैलिङ फरार छन्।
उनीहरूविरूद्ध विष्फोटक पदार्थ, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो।
सरकारी वकिलले पीडितको क्षतिपूर्ति भराउन पनि मागदाबी गरेको थियो। कुल बिगो रकम ५४ करोड ९९ लाख ७९० रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो।
जसमध्ये जाहेरवाला निरबहादुर तामाङ, जग्गाधनीहरू वीरबहादुर तामाङ, दिलबहादुर, ठक्कु, शेरबहादुर र धनबहादुरलाई दामासाही हिसाबले ५४ करोड ३ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको हो।
त्यस्तै बोधिचित्त खरिदकर्ता एवं जाहेरवाला समिप त्रिपाठीलाई ९६ लाख ७८० रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ।
प्रहरीको अनुसन्धानबाट पक्राउ परेका मानबहादुरले शेरबहादुरलाई गेम इज ओभर भनेर मेसेज पठाएको देखिएको थियो।
गत चैत ३० गते (रातको १ बजे) उक्त समूहले हातहतियार तथा विस्फोटक पदार्थ बोकेर रूख कटान गरेका थिए। समूहले रूख काटेपछि घर भित्र रहेकी चन्द्रमाया तामाङले उनीहरूले बोलेको कुरा सुनेको प्रहरीसमक्ष गरेको कागजमा उल्लेख छ।
रूख कटान गरिसकेपछि घटनास्थलमा भएका व्यक्तिले ‘काम सकियो सिजनलाई जानकारी दिनू’ भनेको चन्द्रमायाले सुनेकी थिइन्।
जाहेरवाला निरबहादुरले यसअघि मानबहादुरसँग पनि बोधिचित्तको व्यापार गरिसकेका थिए। मानबहादुरले दानाहरू उधारो माग्ने सम्झौता गरेका थिए। तर रकन नदिने भएपछि निरबहादुर लगायतले समिप त्रिपाठीलाई उक्त बोधिचित्तको दाना दिने सम्झौता गरेका थिए। ९० लाख रुपैयाँमा किनबेच गर्ने गरी गत वर्ष साउन १९ गते सम्झौता भएको थियो।
बैना बापत उनले ५० लाख रुपैयाँ लिइसकेका थिए। त्यसरी नै उनले २०८२ देखि २०८६ सम्म ५ वर्षको लागि मौखिक सम्झौता गरेका थिए। त्यही नपाएको झोँकमा धम्की दिएका मानबहादुरले उक्त रूख काट्न लगाएको अनुसन्धानबाट खुलेको हो।