दाङको अहिले बिहान पौने नौ बजेको अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस रहेको छ। पानी नपरेकाले दाङको तापक्रम घटेको छैन।
सोमबार पनि दाङको घोराहीको तापक्रम ३८.२ डिग्री सेल्सियस नै रहेको थियो। आइतबारको तापक्रम ३८.६ डिग्री सेल्सियस रहेको थियो।
अत्यधिक गर्मी बढेपछि दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाले विद्यालय बन्द दिएका थिए।
गर्मी लम्बिँदै जाँदा यी दुई पालिकाले फरक व्यवहार अपनाएका छन्।
तुलसीपुरले मंगलबारदेखि विद्यालयको पठनपाठन सुरू गर्न भनेको छ। घोराहीले अझै (पानी नपर्दासम्म) थप दुई दिन गर्मी बिदा कायमै राख्ने निर्णय गरेको छ।
यसैबीच बाँकेको नेपालगञ्ज उपमहानरपालिकाले जेठ १८ गतेदेखि असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ। कोहलपुर र राप्ती सोनारीले बिहानी कक्षा सञ्चालन गरिरहेका छन्। तीबाहेक अन्य सबै पालिकाहरूले विद्यालयमा गर्मी बिदा दिएका छन्।
गर्मी बढेकै कारण पहाडी जिल्ला सल्यानमा विद्यालय बन्द गराइएको छ। सल्यानको शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्। सल्यानमा पनि थप दुई दिन बिदा लम्ब्याइएको त्यहाँका जनप्रतिनिधिले बताएका छन्।
चर्को गर्मीका कारण तराईका जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ। खडेरीले मकैका बोट बारीमै सुक्न थालेका छन्। धानको बिउ राखिएको ब्याडसमेत सुकेपछि ट्यांकरबाट पानी हाल्नुपरेको कृषक बताउँछन्।