भ्रष्टाचार विरोधी अभियन्तालाई सूचना मागेकै कारण प्रहरीले पक्राउ गरेको सूचनाको हकका लागि राष्ट्रिय महासंघले बताएको छ।
महासंघका केन्द्रीय अध्यक्ष उम्मीद बागचन्द र केन्द्रीय महासचिव अजयकुमार साहले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अभियन्ताले सूचना माग गरेकै कारण पक्राउ गरेको बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार आफ्नो फेसबुक पेजमार्फत चार जना व्यक्तिहरूलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्।
उनीहरूले गैर-कानुनी तरिकाले बेथिति एवं भ्रष्टाचार विरूद्ध अभियान २०८० नामको संस्था खोलेर ठगी समेत गरेको आरोप लगाएको छ। यद्यपि उनीहरूले कति रकम ठगेको भन्ने प्रहरीले खुलाएको छैन।
यस विषयमा महासंघले भ्रत्सना गरेको छ।
‘सार्वजनिक निकायमा सूचना माग गरेकै कारण बौद्ध प्रहरी वृत्तबाट खटिएका प्रहरीले ज्यादतीपूर्ण तरिकाले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त घटनाको महासंघ घोर भत्सना गर्दै पक्राउ गरिएका अभियन्ताहरूलाई तत्काल रिहा गर्नका लागि सम्बन्धित प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउँदछौ,’ विज्ञप्तिमा भनिएको छ।
सूचना माग्नेलाई हिरासतमा राख्ने कार्यले सूचनाको हकलाई कुण्ठित बनाउन र राज्यका सुरक्षा निकाय अनियमिततालाई प्रसय दिएको विज्ञप्तिमा उल्लेख छ।
‘गोकर्णेश्वर नगरपालिकामा चरम अनियमितता भइरहेको तथ्यहरू बेला-बेलामा बाहिर आएकै हो। नगरपालिका भित्र भइरहेको अनियमितता र भ्रष्ट्रचारविरूद्ध सूचना माग गर्ने र सार्वजनिक गर्ने अभियन्ताहरूलाई उल्टै प्रहरी लगाएर पकाउ गर्नुले आम नागरिकको सूचनाको हकलाई राज्यलेनै लत्याउन खोजेको प्रष्ट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सूचना माग गर्नेले कानून विपरीत अरू कुनै काम गरेका छन् भने निष्पक्ष छानविन गरी कानून अनुसार कारवाही गरिनुपर्छ। अत पक्राउ गरेका अभियन्ताहरूलाई निःशर्त तत्काल रिहाइका लागि महासंघ जोडदार माग गर्दछ।’
पक्राउ परेका चारै जनाले विभिन्न वडाहरूमा खोलेर शाखासमेत विस्तार गरेको प्रहरीको आरोप छ।
विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचार विरोधी अभियन्ता हौं भनेर चिनाउने गरेको प्रहरीले उल्लेख गरेको छ।
त्यहाँ उनीहरूले तिमीहरूविरूद्ध भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको, छानबिन गर्न आएको, हिसाबकिताब देखाउ भन्दै सम्बन्धित सूचना मागेको प्रहरीले जनाएको छ।
पदाधिकारी तथा कर्मचारीहरूलाई मुद्दा हालिदिने भनेर धम्क्याउने र आतंक सिर्जना गरी भिडिओ बनाएर अनाधिकृत तवरले रकम समेत असुली गरी ठगी गरेको आरोप छ। भिडिओ हालेर चरित्र हत्या समेत गरेको उनीहरूमाथि आरोप छ। उनीहरूले कति रकम ठगेको भन्नेबारे प्रहरीले खुलाएको भने छैन।
प्रहरी वृत्त बौद्धमा जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।