लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ।
तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगी लगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगीको संक्रमण पनि बढ्दै गएको बताए।
उनका अनुसार गत माघयता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगीको संक्रमण देखिएको छ। सबभन्दा बढी डोटी जिल्लामा ४७ जना संक्रमित फेला परेका उनले जानकारी दिए।
निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुई जनामा संक्रमण देखिएको छ।
‘पानी पर्न थालेपछि तराईमा समेत संक्रमण बढ्ने जोखिम रहन्छ,’ जोशीले भने, ‘अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन्। पानी परेर केही चिसो हुन थालेपछि संक्रमणको जोखिम बढ्ने छ।’
उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ संक्रमण देखिन थालेको बताए।
डेंगी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा संक्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए।
स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेको उनको भनाइ छ।
निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगी संक्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो। रासस