अत्यधिक वर्षाले विराटनगरका बस्ती जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो।
१२ नम्बर वडाध्यक्ष हिरालाल कामतका अनुसार अत्यधिक वर्षाका कारण बूढी खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ। त्यस्तै वर्षात्को पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताए।
वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न भएका छन्।
‘बरगाछीदेखि कञ्चनबारीसम्म जलमग्न हुने अवस्था बनेको छ। पानी पर्न रोकिएको छैन,’ उनले भने।
पछिल्लो मोरङको हरैचामा ९५ मिलिलिटर पानी परेको छ।
भारी वर्षा भने झापाको केचना र पोखराको लामापाटन क्षेत्रमा भएको छ। झापाको केचनामा पछिल्लो २४ घन्टामा १५५.६ मिलिमिटिर र लामापाटनमा १५० मिलिमिटर पानी परेको छ। सोलुखुम्बुमा १२० मिलिमिटर पानी परेको छ। सिराहाको ढोढनामा १०४.४ र उदयपुरको सुन्दरपुरमा १०२ मिलिमिटर पानी परेको छ।
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन् ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए। उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए। इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो।
यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ। उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ। पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ।
लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु
लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। मृत्यु हुनेमा बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिका १६ वर्षीय विकल सुनार र कोलासोंथर गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।
चितिका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजादै गर्दा विकलको बाटैमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
यता, कोलासोंथर गाउँपालिका बगुमका रूद्रमानसहित ४ जना पहिरोले पुरिएर वेपत्ता भएका थिए। पहिरो पन्छाएर उनीहरुको खोजी गर्दा ६९ बर्षीय रुद्रमानको शव भेटिएको डिएसपी घलेले बताए । पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै वेपत्ता छन्।
अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र कोलासोंथर गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ। मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र वेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय नीरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन्।
यस्तै, गाउँपालिका योजना शाखा प्रमख चित्र घले पनि पालिकाको केन्द्र रहेको मालिङमा रहेकाले जोगिएको गुरुङले बताइन्।
पहिरोमा वेत्ता भएकाहरुको खोजीकार्य जारी रहेको उनले बताइन्।