काठमाडौं महानगरपालिका-१७, ढल्कोमा बुधबार दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्को, पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन्।
उनीहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बुधबार अन्दाजी अपराह्न तीन बजेर ५० मिनेट जाँदा पोडेटोलको दुई नम्बर गल्लीमा छिमेकी-छिमेकी बीच विवाद भएको थियो। सोही क्रममा धारिलो हतियार प्रहार हुँदा अनितको मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी छन्।
उनीहरूका साथबाट खुकुरी एक थान बरामद भएको छ। उनीहरू प्रहरी वृत्त, लैनचौरको नियन्त्रणमा छन्। घटना सम्बन्धी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।